उपनिर्वाचन : पुराना दलमै भरोसा र नयाँको परीक्षण

काठमाडाैं | बैशाख १८, २०८१

उपनिर्वाचन : पुराना दलमै भरोसा र नयाँको परीक्षण

काठमाडौं :   प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई उत्साहित तुल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनमा प्राप्त जितले एमालेलाई खुसी तुल्याएको हो ।

 

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले चुनावले आफ्नो दलप्रति आम मतदाताको ठूलो भरोसा रहेको देखाएको प्रतिक्रिया दिनुभयो । एमालेको अगुवाइ  र उपस्थितिमा देश निर्माण गर्न सकिन्छ भन्ने सन्देश पाएको जिकिर पनि उहाँले गर्नुभयो । “अन्य राजनीतिक पार्टीमा सङ्गठित व्यक्तिले पनि ‘सूर्य’लाई मत हालेको देखिन्छ । विचारका हिसाबले आफ्ना दलको नेतालाई  मान्ने तर मुलुक सञ्चालनको जिम्मेवारीमा एमाले खोज्ने प्रवृत्ति मतदातामा देखियो । यो एमालेका लागि नयाँ जिम्मेवारी पनि हो ।”

 

आफ्नो दललाई पहिचान विरोधी हो भनेर समाजलाई साम्प्रदायिक विभाजन गर्ने  दूषित मनसाय बोकेकाहरूले लगाएको आरोप र अस्वीकृत भएको उहाँको भनाइ छ  । पहिचानका नाममा अतिवादी प्रवृत्तिलाई समाप्त पारिएको जनाउँदै उहाँले जनताले युवालाई अनुमोदन गरेको स्पष्ट देखिएको बताउनुभयो । विधायकको मुख्य भूमिका कानुन निर्माण हो, त्यस्तो महत्वपूर्ण थलो संंसदमा कानुनी पृष्ठभूमिका प्रतिनिधिलाई नै जनताले रोजेकामा उहाँले सन्तुष्टि व्यक्त गर्नुभयो ।

 

 “प्राप्त मतभारबाट उत्साहित मात्र नभएर आफूप्रति गरिएको भरोसालाई डगमगाउन नदिई मुलुकलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको राष्ट्रिय सङ्कल्पमा दृढ भएर अघि बढ्छौँ”, उहाँले भन्नुभयो ।  

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले उपनिर्वाचनबाट देशले राजनीतिक परिपक्वता खोजेको सङ्केत गरेको प्रतिक्रिया दिनुभयो ।  उहाँका अनुसार मुलुकलाई अघि बढाउन दुई/तीन आयाम छन् । “अब सबै मिलेर काम गर्नुपर्छ । देशको समृद्धिका लागि मिलेर जाऔँ भन्ने सन्देश पाइएको छ । राजनीतिमा अघि बढ्न त्याग, समर्पण, परिपक्वता आवश्यक हुन्छ भन्ने सन्देश आयो”, उहाँले भन्नुभयो ।

 

नेपाली कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङले आफ्नो दलले निर्वाचनको परिणामलाई सकारात्मक रूपमा ग्रहण गरेको बताउनुभयो । आफ्नो दल निर्वाचनमा पराजित भए पनि कांग्रेसप्रतिको जनताको भरोसा कायमै छ भन्ने जिकिर पनि उहाँले गर्नुभयो । “निर्वाचनले एमाले र नेपाली कांग्रेसमै जनताको भरोसा छ भन्ने देखाएको छ । यसबाट नयाँ राजनीतिक दलको पनि परीक्षण भएको छ”, उहाँले भन्नुभयो । आफ्ना मतदाता यथावत् रहेको र तिनले कांग्रेसलाई माया गरिरहेको जनाउँदै उहाँले अब पार्टी जनताका माझमा पुग्न र अलि बढी खट्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो । 

 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनले सङ्गठन विस्तार र पार्टी बनाउनका लागि जनतासँग लामो संवाद गर्न सन्देश दिएको बताउनुभयो । “पछिल्लो राजनीतिक परिवर्तनसँगै रास्वपाले जनसमर्थन पाउँछ  भन्ने बुझाइ स्थापित गर्न अझ बढी काम गर्नुपर्ने देखियो । त्यो बाँकी काम यथाशीघ्र गरेर अघि बढ्न निर्वाचनबाट सन्देश मिलेको छ  ।” 

 


उपनिर्वाचनमा आएको मतमाथि विचारविमर्श र समीक्षा गर्ने ठाउँमा आफूहरूलाई पुर्‍याएको बताउँदै उहाँले नतिजालाई सबै आयामले सोच्नुपर्छ भन्नेमा दलको आगामी बैठकमा छलफल हुने जानकारी दिनुभयो । 


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्